बेगनासतालमा सरसफाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम

 बेगनासतालमा सरसफाइ तथा  शुभकामना आदान प्रदान कार्यक्रम

सिटी अफ सेभेनलेक्स डटकम 
लेखनाथ, २३ असोज



मिलनसार तमु समाज पोखरा–३१ बेगनासतालले बडादशैंको पूर्वसन्ध्यामा बृहत सरसफाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम सपन्न गरेको छ । बिहान ८ बजेदेखि १० बजेसम्म गोरखनाथ मार्गदेखि नहर चोक हुँदै बेगनासताल बसपार्कसम्म सरसफाइ कार्यक्रम संचालन भएको थियो ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३१ का वडा सदस्य विष्णु बहादुर भुजेलले  बेगनासताल पर्यटकीय क्षेत्र भएकाले पनि फोहरमैलाको समस्या रहेको र समाजमा चेतनाकोस्तर साथसाथै शिक्षित समाजको विकास गराउनसके गाउँटोल साथै सिँगो देशनै सफा हुने कुरा व्यक्त गरेका थिए ।

 स्वागत मन्तव्य तमु समाजकी सदस्य तारा गुरुङ र ड्यामसाइड युवा क्लबका अध्यक्ष एवं मिलनसार तमु समाजका सल्लाहकार कविर गुरुङले समाजले स्थापनादेखिनै सरसफाइ कार्यक्रम गर्दै आइरहेको र स्थानीय क्लबहरुले पनि यस कार्यक्रमलाई पछ्याइरहेको जानकारी गराएका थिए । कार्यक्रममा बेगनास युवा क्लबका अध्यक्ष निराजन बरालले समाज सँगसँगै एकजुट भएर काम गर्न क्लब  तयार रहेको जानकारी गराए, त्यसैगरी विशिष्ट सल्लाहकार आइ बहादुर गुरुङले सरसफाई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी उक्त कार्यक्रमका सभापति एवं मिलनसार तमु समाजका अध्यक्ष जीवन गुरुङले यस्ता विभिन्न खालका सचेतनात्मक  कार्यक्रमहरु आगामी दिनहरुमा पनि ल्याइने जानकारी गराएका थिए । उक्त कार्यक्रम संचालन मिलनसार तमु समाजका सचिव ईश्वर गुरुङले गरेका थिए ।