लेखनाथमा नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता हुने

 

लेखनाथमा नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता हुने


राजन परियार 

पोखरा , २२ माघ

माछापुच्छ्रे क्रिकेट एकेडेमीले लेखनाथमा क्रिकेट पारखीहरूका लागि प्रशिक्षण सुरु गरेको छ । पोखरा २७को एडेन हेभेनमा माछापुच्छ्रे क्रिकेट एकेडेमीले बक्स क्रिकेट प्रशिक्षण गर्न सुरु गरेको छ। हालको प्रदेशसभा भवन रहेको स्थानमा रहेको एकेडेमीले लेखनाथमा नयाँ एकेडेमी संचालन गरेको हो । एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । बिहिवार आयोजित पत्रकार सम्मेलनमा फागुन १ गते देखि ४ गते सम्म हुने क्रिकेट प्रतियोगिता लेखनाथ-२७ स्थित एडेन हेवेनमा संचालन हुने एकेडेमीका संचालक अरुण पौडेलले जानकारी दिए । एकेडेमीको उद्घाटन र प्रतियोगिता एकसाथ गर्न लागिएको उनले जानकारी दिए ।


पत्रकार सम्मेलनमा एकेडेमी संचालन र प्रतियोगिताबारे जानकारी दिर्दै गण्डकी प्रदेशका खेलाडी एवम् एकेडेमीका प्रशिक्षक दीपेश खत्रीले नेपालमा ब्याट्सम्यान र ग्राउन्ड खेलाडी उत्पादनको लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए । बक्स क्रिकेट भनेको सफ्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केहि नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा अर्थात स्ट्रेट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । 

‘टाढा टाढाबाट आउने र लेखनाथका खेलाडी समेत धेरै थिए त्यसैले पनि लेखनाथमा खोलेका हौँ' उनले भने । नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव रहेको र एकेडेमीले सोहि अनुसारको खेलाडी उत्पादन गर्नका लागि आयोजना गर्न लागेको प्रतियोगिता एकेडेमीको वाषिर्क क्यालेन्डरमा समेत राखिने बताए । 

यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले लेखनाथले समेत खेलकुदमा भुमिका खोज्दै छ भन्ने प्रमाणीत गरेको बताए । एकेडेमी सञ्चालन गर्न आर्थिकभार हुने हुदाँ खेलाडी उत्पादनमा समेत समस्या आउने गरेको र कास्कीमा धेरै एकेडेमी खोलेपनि निरन्तरता कमैले मात्र दिन सकेको स्मरण गर्दै उनले संचालनमा आउन लागेको एकेडेमी भने निरन्तर संचालनमा ल्याउन शुभकामना व्यक्त गरे । 

प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैँयाका साथमा ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुइ हजार पाँच सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्न करिब डेढ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।