पोखरा ३० मा ५० बेडको क्वारेन्टाइन निर्माण गरिने

पोखरा ३० मा ५० बेडको क्वारेन्टाइन निर्माण गरिने
जेष्ठ १५, पोखरा ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनहँु बढदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ३० मा क्वारेन्टाइन राखिने भएको छ । भारतसहित खाडी क्षेत्रबाट पाँच लाखभन्दा बढी नेपालीलाई तत्काल फर्काउनुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको अवस्थामा हाल भने भारतबाट नेपालीहरु स्वदेश फिर्ता हुने क्रम बढदै गएपछि उनीहरुको व्यवस्थापनका लागि पोखरा महानगरले प्रत्येक वडामा ५० बेडको क्वारेन्टाइन स्थल राख्ने भएको छ ।

पोखरा-३० का जन प्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि, विद्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, युवा प्रतिनिधि, ४३ टोल विकास समितिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी सहितको भेलाले पोखरा महानगरपालिका वडा नं ३० भित्रका ५ प्रस्तावित स्थल लेखनाथ साना शहरी खानेपानी भवन, सहिद स्मारक आधारभूत विद्यालय, त्रिभुवन शान्ति नमुना मा.वि.,सनत दुर्गा आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालय मध्ये त्रिभुवन शान्ति नमुना मा.विमा क्वारेन्टाइन निर्माण गरिने भएको छ ।

देश लकडाउनमा गएसँगै मदिरा सेवन र यौनजन्य हिंसा बढदै गइरहेकाले अभिभावकले वालवालिकाहरुलाई विशेष चनाखो भइ राम्रोसँग निगरानीमा राखिदिन इलाका प्रहरी कार्यालय डाडाकोनाक प्रमुख डि एस पि अर्जुन रानाभाटले अनुरोध गरेका थिए ।

त्यसै गरी वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले क्वारेन्टाइनमा बस्नेलाई सुरक्षित रूपमा राखीने, आधारभूत आवश्यकता साथै इन्टरनेटको व्यवस्था गरिने र हाललाई सामुदायिक विद्यालयमा क्वारेन्टाइन राखिने र आवश्यकता अनुसार अन्य सामाजिक भवनहरुमा समेत वडाले प्रयोग गर्न सक्ने बताएका छन् ।